काठमाडौँ । सत्ता गठबन्धनले भोलि (सोमबार)सम्ममा महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुंगो लगाउने भएको छ ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूबीच सोमबारसम्ममा महानगर र उपमहानगरमा सिट बाँडफाँटको टुंगो लगाउने सहमति भएको हो ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् ।
केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म बनेका गठबन्धनका संयन्त्रले स्थानीय तहको अवस्था र तालमेलको सम्भावनाबारे छलफल गरिरहेका छन् ।
गठबन्धनको केन्द्रीय संयन्त्रले सोमबारभित्र केन्द्रमा प्रतिवेदन बुझाउन प्रदेश संयन्त्रहरूलाई निर्देशन गरेको छ । अहिले स्थानीय तह, जिल्ला र प्रदेश तहमा रहेका संयन्त्रले गठबन्धनभित्र सिट बाँडफाँटको आधार र मापदण्डमाथि छलफल गरिरहेका छन् ।





