टी–२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमद्वारा प्रशिक्षण सुरू


१९ पुष २०७८, सोमबार १२:२० मा प्रकाशित

आगामी फेब्रुअरी १५ देखि ओमानमा सुरू हुने टी–२० विश्वकप ग्लोबल छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबारबाट प्रशिक्षण सुरू गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजेदेखि प्रशिक्षण सुरू भएको हो । बन्द प्रशिक्षणको पहिलो दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १४ जना खेलाडी उपस्थित भएका छन् । २० जना खेलाडीले क्यानलाई रिपोर्टिङ गरिसकेका छन् भने ९ जना खेलाडीले बेलुकासम्म क्यानलाई रिपोर्टिङ गर्ने भएका छन्।

शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर र किशोर महतो मैदानमा उपस्थित भएर अभ्यास थालिसकेका छन् । सागर ढकाल, विनोद भण्डारी, विक्रम सोब, सुशन भारी, नन्दन यादव र हरिशंकर शाह लगायत ९ जना खेलाडीको पीसीआर रिपोर्ट आउन बाँकी रहेकाले प्रशिक्षणमा सहभागी भएका छैनन् ।

प्रशिक्षक दसानायकेका अनुसार अन्य ९ खेलाडी भने सोमबार बेलुकासम्म होटेलमा उपस्थित हुने भएका छन् । क्यानले बन्द प्रशिक्षणमा सहभागी हुन ३० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको थियो । यसअघि खेलाडी कारवाहीको बिरोधमा बन्द प्रशिक्षणमा अधिकांश खेलाडी गएका थिएनन् ।

कप्तान सन्दिप लामिछाने हाल बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा छन् र जनवरी अन्तिम साता मात्र नेपाल आइपुग्नेछन् ।
क्यानले अनुशासन उल्लङ्घनसम्बन्धी गठन गरेको छानबिन समितिले सिफारिस गरे बमोजिम खेलाडी आचार संहिता उल्लङ्घन गरेको भन्दै क्यानले गत मङ्सिर २९ गते अनुशासनको कारण देखाउँदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो । मल्ल र ऐरीसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो । यस्तै क्यानले सन्दिप लामिछानेलाई कप्तान समेत नियुक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here