राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी


१८ मंसिर २०७८, शनिबार १२:२१ मा प्रकाशित

काठमाडौं, मंसिर १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । काठमाडौंमा आयोजित राप्रपाको एकता महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न शनिबार बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै १२ बजेदेखि सुरू भएको हो ।

अध्यक्ष पदका लागि विद्युतीय मेसिन र अन्य पदमा मतपत्र प्रयोग गरिएको राप्रपाले जनाएको छ । अध्यक्ष पदका उम्मेदवार कमल थापा र राजेन्द्र लिङ्देनले मतदान गर्नु भएको छ ।

थापा र लिङ्देनबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान छ । दुवैले आफूले जित्ने बताउँदै आउनु भएको छ । राप्रपाको नेतृत्व लामो समयदेखि गर्दै थापालाई लिङ्देनले चुनौती दिदै आउनु भएको छ ।

राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ । समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् ।

आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित चार उपाध्यक्षका लागि आठ जना र एक महिलासहित तीन महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here