राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु


१६ मंसिर २०७८, बिहीबार १२:१४ मा प्रकाशित

काठमाडौं मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुँदैछ ।

बुधबार उद्घाटन सत्र सकिएलगत्तै महाधिवेशनको बन्दसत्र सुरु भएको हो । पार्टी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्रतिस्पर्धामा हुनुहुन्छ । बन्द सत्रमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, अध्यक्ष पशुपति शम्शेर राणाले सामाजिक कार्यपत्र र अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र पेस गर्नुभएको छ ।

महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना लगभग टरिसकेको भए पनि सहमतिको प्रयास गरिने नेताहरूले बताएका छन् । अहिले ९ देखि दिउँसो १२ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ । उम्मेदवारको प्रथम नामावली दिउँसो २ बजे प्रकाशित गरिने छ । उम्मेदवारीमाथि दाबी विरोध र फिर्ताको समय दिउँसो २ बजेदेखि ४ बजेसम्म तोकिएको निर्वाचन समितिले जनाएको छ ।

बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ भने शुक्रबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय राखिएको छ । त्यसपछि मतगणना सुरू हुने छ । बुधबारदेखि सुरु भएको महाधिवेशनमा देशभरिबाट झण्डै ४५ सय प्रतिनिधि सहभागी रहेका छन् । राप्रपा नेता मोहन श्रेष्ठकाअनुसार महाधिवेशनबाट पारित विधान अनुसार अब राप्रपाको केन्द्रीय समिति १९९ सदस्यीय हुनेछ ।

यस्तै, महाधिवेशनले गाउँ र नगर, जिल्ला, प्रदेश तथा केन्द्र सबै तहको नेतृत्वमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने व्यवस्था पारित गरेको विधान संशोधन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here