ठेकेदारसहितको टोलीद्वारा पत्रकार गुरागाइँमाथि कुटपिट


३१ चैत्र २०७७, मंगलवार १२:४३ मा प्रकाशित

काठमाडौँ । काठमाडौँको पुरानो बस पार्कमा निर्माणाधिन ‘काठमाडौँ भ्यू टावर’ का ठेकेदारसहितको टोलीले पत्रकार माधवप्रसाद गुरागाइँलाई कुटपिट गरेको छ ।

गुरागाइँ नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी हुन् । सार्वजनिक प्रयोजनको लागि निर्माण हुन लागेको टावरको प्रगति विवरण, पेटी ठेकेदार भारतीय नागरिक भ्यालुरुपाली हेमचन्द्रका सामानहरु अरु ठेकेदारहरुलाई प्रयोग गर्न दिएको, हेमचन्दलाई काममा नलगाएको र भुक्तानी पनि नदिएको बारे रिर्पोटिङ्ग गर्न पुगेका सञ्चारकर्मीलाई ठेकेदार मनोज भेटवाल, उनका दाजु भैरव भेटवाल र मनोजका सुपरभाईजर ज्ञान बहादुर रायको मिलेमतोमा आक्रमण गरिएको पीडित गुरागाइँले बताए ।

कुटपिटको घटनाको भत्सना गर्दै गुरागाइँ आबद्ध सञ्चार संस्था नेपाल आज प्रालीले एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आक्रमणसँगै उनीहरुले भिडियो खिचिरहेको सञ्चार सामग्रीसमेत खोसेर तोडफोड गरेको बताएका छन् ।

घटनाको विषयमा सोमबारै प्रहरी परिसर टेकुमा उजुरी दिएको गुरागाइँले बताए । प्रहरीका अनुसार संलग्न तीनै जना मोवाईल स्वीच अफ गरी फरार छन् ।

उनीहरुलाई तत्काल पक्राउ गरी कारवाहीको दायरामा ल्याउन, क्षती भएको सञ्चार उपकरणको उचित क्षतिपुर्ति दिलाउन र ज्यान मार्ने धम्की दिनेलाई प्रचलित कानुन अनुसार कारवाही गर्न नेपाल आज प्रालीले माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here