भद्रपुर नगरपालिकाका विद्यालयहरु तत्काल बन्द गर्न नेविसंघद्वारा ध्यानाकर्षण


१५ श्रावण २०७७, बिहीबार १९:३० मा प्रकाशित

झापा । कोरोना भाइरस संक्रमण समुदायमा फैलिएको आशंका बढिरहेका बेला भद्रपुर नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयहरु सञ्चालनमा रहेको पाइएको छ ।

भद्रपुर नगरपालिकाका निजी तथा सामुदायिक विद्यालयले ९ र १० कक्षाको पढाई सञ्चालन शुरु गरेको हो । विद्यालय खुल्ला रहेको भन्ने सूचनाका आधारमा नेपाल विद्यार्थी संघ झापाले एमरल्ड एकाडेमी, एस.एस. निकेतन, प्रज्ञा एकाडेमी, विभुति विद्या मन्दिर, इस्ट पोइन्ट अंग्रेजी स्कुल लगायतका विद्यालयको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा स्वास्थ्य सुरक्षाका उपायहरु मास्क, सेनिटाइजर लगायत भने प्रयोग गरेरै कक्षा सञ्चालन गरिरहेको पाइएको नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीले जानकारी दिए । नेविसंघ झापाका अनुसार भद्रपुर नगरपालिका शिक्षा शाखाले निर्णय गरेरै विद्यालय सञ्चालन ल्याइएको हो ।

कोरोना भाइरसको जोखिम बढिरहेको अवस्थामा सामुदायिक र निजी विद्यालयहरु सञ्चालनमा रहेको पाइएपछि नेविसंघ झापाले विद्यार्थीहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखेर तत्काल बन्द गर्न प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ ।

नेविसंघ झापाको टोलीले प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, प्रहरी प्रमुख कृष्ण कोइराला र जिल्ला शिक्षा समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतलाई भेटेर विद्यालय सञ्चालन भइरहेकोबारे जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।

नेविसंघको टोलीसँग कुरा गर्दै प्रजिअ रानाले विद्यालय सञ्चालन सरकारी निर्णय विपरित भएको जनाउँदै तत्काल बन्द गराउने आश्वासन दिएको नेविसंघ झापाका सहसचिव मिलन चापागाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here