बाढीका कारण कटहरी गाँउपालिकाका ८० सुकुम्बासी परिवार विस्थापित


१३ असार २०७७, शनिबार १३:३७ मा प्रकाशित

मोरङ । सिंघीया खोलामा आएको बाढीका कारण कटहरी गाँउपालिकाका ८० सुकुम्बासी परिवार विस्थापित भएका छन् ।

कटहरी गाँउपालिकाको पश्चिमी सिमाना भएर बग्ने सिंघीया खोलामा आएको बाढीका कारण कटहरी–१ टाइगर टोलका ८० परिवार विस्थापित भएका हुन् । घर नजिकै रहेको खोलाको जलस्तर बढदै गएको र कटहरी १ कै महेशपुर बस्तीतर्फबाट बगेर आउने बर्षातको पानीले खहरे खोलाकोरुप लिएर गाँउको मध्यबाट बग्न थालेपछि सर्वसाधारण बस्ती छाड्न बाध्य भएका हुन् । शनिवार बिहान ५ बजेबाट खोलाको जलस्तर बढ्न थालेको स्थानीयले जानकारी दिएका छन् ।

बस्ती छाडेर सरेका मानिसहरु सरसामान, बालबच्चा र बस्तुभाउ सहित खोलाभन्दा केहि टाढाको डिलमा पाल टाँगेर बसिरहेका छन् । कटहरी–१ को सो टोल पुर्वतर्फबाट बगेर आउने पानीको तथा पश्चिमतर्फबाट सिंघिया खोलाको बाढीको चपेटामा परेको छ ।

प्रायजसो प्रत्येक वर्ष सिंघीया खोलामा आउने बाढीबाट टाईगर टोलका बासिन्दा प्रताडित हुने गरेका छन् । बाढी आएपछिको दुईतीन महिना उनिहरुकालागि कष्टकर हुने गरेको छ । बस्तीमा ज्यालामज्दुरी गरी खाने बर्गका सुकुम्बासी परिवारले बसोबास गर्र्दै आएको स्थानीय प्रदीप साहले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here