झापा । अर्जुनधारा नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक बालिकासहित तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतको विहारबाट काँकरभिट्टा नाका भएर जेठ २७ गते आएका २ वर्षीया एक बालिकासहित एक महिला र पुरुषमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।
२ वर्षीया बालिकाकी आमाको उमेर २२ वर्ष र अर्का पुरुषको उमेर २३ रहेको छ । उनीहरुसँगै स्वाब संकलन गरिएका अन्य २४ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । उनीहरुको असार ३ गते स्वाब संकलन गरिएको थियो ।
२४ जनाको रिपोर्ट शनिबार नै आए पनि तीन जनाको पीसीआर परीक्षणमा शंका लागेपछि पुनः परीक्षण गर्दा आइतबार दिउँसो रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।यसअघि यस क्वारेन्टाइमा रहेका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै अर्जुनधाराका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमित व्यक्तिलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।





