झापाको कचनकवल गाउँपालिकामा बिहीबार बिहान १५ र दिउँसाे ८ जना कोरोना सङ्क्रमित थपिएका छन्। झापामा संक्रमतिको सङ्ख्या ३५ पुगेको छ।
भारतबाट आएका नेपाली नागरिकलाई गाउँघर प्रवेश गर्न नदिएर गाउँपालिकाले सोझै क्वारेनटाइनमा लगेर राख्न थालेकाे छ। क्वारेनटाइनमा बसेका मध्ये ९८ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियाे। त्यसमध्ये मंगलबार १, बुधबार ९ र बिहीबार बिहान १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दिउँसाे फेरि ८ जनामा काेरानाे देखिएकाे थियाे। पथरिया माविको क्वारेनटाइनमा बसेका ३३ जनामध्ये १० जनालाई कोरोना देखिएको हो। १० जनालाई उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए। अरूलाई २३ जनालाई त्यही राखिएको छ।
बिहीबार देखा परेका सङ्क्रमित लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेनटाइनमा बसेका मध्येबाट पुष्टि भएको हो। त्यहाँबाट एक महिलासहित ६५ जनाको स्वाब परीक्षणका लागि पठाइएको ३० जनाको रिपोर्ट पहिलो चरणमा आएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए।
क्वारेनटाइनमा बसेका कोरोना पुष्टि भएकालाई चार वटा एम्बुलेन्समा हालेर कोसी अस्पताल विराटनगर पठाउने तयारी भइरहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए।यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ७७ पुगेको छ।





