सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पोजेटिभ


१३ बैशाख २०७७, शनिबार १४:३३ मा प्रकाशित

डडेलधुरा । सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पोजेटिभ आएको छ ।

धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिलाको चौथो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको हो । गत चैत २२ गते कोरोना पुष्टि भएपछि उनको चार पटकसम्म परीक्षण भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार ती महिलाको शनिबार पुनः परीक्षण गरिनेछ । दुईपटक गरेपश्चात रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गरिनेछ । उनीसँगै भर्ना भएका दुई जना कोरोना संक्रमित भने डिस्चार्ज भइसकेका छन् ।

उनको अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसमा मात्रै उपचार भइरहेको छ । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था भने सामान्य छ । ३४ वर्षीया ती महिलामा दुबईबाट आएका उनका ३४ वर्षकै देवरबाट कोरोना सरेको आशंका गरिएको छ ।

उनका देवरसहित हालसम्म चारजना कोरोना संक्रमित निको भएर भएर घर फर्किएका छन् । लम्की चुहा नगरपालिकाका २१ वर्षीय युवक, धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय युवक, लम्की चुहा नगरपालिका १ की ६१ वर्षीया महिला र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४० वर्षीय पुरुष अस्पतालबाट डिस्चार्ज भइसकेका हुन् ।

सुदूरपश्चिमका विभिन्न अस्पतालबाट एक सय ६ जना डिस्चार्ज भएका छन् । सेती प्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमित र बाँकी सेती अस्पताललगायत विभिन्न अस्पतालबाट एक सय २ जना शंकास्पद गरी अहिलेसम्म एक सय ६ जना बिरामी डिस्चार्ज भएका हुन् ।

सेती प्रादेशिक अस्पतालबाट अहिलेसम्म ३९ जना, बयलपाटा अस्पताल अछामबाट १४ जना, डडेल्धुरा अस्पतालबाट १२ जना र अछाम जिल्ला अस्पतालबाट १० जना डिस्चार्ज भएका छन् । महाकाली र डोटी अस्पतालबाट ६/६, बैतडी र बाजुरा अस्पतालबाट चारचार, भजनी अस्पतालबाट तीन, गोकुलेश्वर अस्पताल, बाजुरा अस्पताल र चौमला स्वास्थ्य चौकीबाट २/२ जना, टीकापुर र बझाङ अस्पताल तथा कोल्टी स्वास्थ्य चौकीबाट १/१ जना शंकास्पद बिरामीलाई डिस्चार्ज गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here