तातेपानी नाका सञ्चालनमा आएसँगै दैनिक स्वास्थ्य सामग्री भित्रिँदै


१३ बैशाख २०७७, शनिबार १४:२० मा प्रकाशित

काठमाडौं । गत चैत २६ गतेदेखि तातेपानी नाका सञ्चालनमा आएयता दैनिक स्वास्थ्य सामग्री नेपाल भित्रिएका छन् ।

तातोपानी भन्सार कार्यालयका अनुसार चीनको तिब्बत सरकारले नेपाल सरकारलाई दिएको अनुदान तथा निजी क्षेत्रले खरीद गरेका स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै नेपाल भित्रिएका हुन् ।

तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार हालसम्म एन–९५ पिसिआर मेसिन दुई थान, टेष्टिङ किट २० हजार थान तथा मास्क ७२ हजार पाँच सय थान भित्रिएको छ ।

त्यस्तै डिस्पोजेबल मास्क १२ हजार थान, स्यानिटाइजर २६ हजार ७३२ लिटर, पञ्जा तीन हजार नौ सय थान र पिपिई २१ हजार २६० थान नेपाल भित्रिएको छ । एक हजार थान प्रोटेक्टिभ चश्मा, २० हजार आठ सय थान डिस्पोजेबल शु–कभर, पाँच हजार आठ सय थान फेससेइल्ड र ४३० थान मेडिकल वेड म्याट्रिक्स पनि आएका छन् ।

तिब्बतले नेपाल सरकारलाई अनुदानमा दिएको रु आठ करोड ३१ लाख बराबरको स्वास्थ्य सामग्री दश हजार थान एन–९५ मास्क, दश हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई थान पीसीआर मेशिन, दश हजार थान टेष्टिङ किट र पचास थान वेट वाइपबाहेक अन्य स्वास्थ्य सामग्री निजी क्षेत्रले खरीद गरेका हुन् ।

चीनमा कोभिड –१९ को संक्रमण बढेपछि गत माघ १३ गतेदेखि बन्द तातोपानी नाका चैत १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले अत्यावश्यक सामान ल्याउन खोल्ने निर्णय गरेको थियो । नाका खोल्ने निर्णय भएको दुई सातापछि अर्थात् चैत २६ गते निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री नेपाल भित्रिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here