ताप्लेजुङ । ताप्लेजुङमा वर्षासँगै परेको असिनाले कृषि बालीमा क्षति पु¥याएको छ । शनिबार र आइतबार परेको असिनाले सबैभन्दा धेरै क्षति मकैमा गरेको स्थानीयले बताएका छन् ।
‘गोड्ने बेला भएको मकै माटोमै मिलाइदियो,’ फुङलिङ नगरपालिका–११ फावाखोलाका कमल विष्टले भने, ‘अलैँची, आलु, गहुँ, जौ, इस्कुस पनि सखाप पा¥यो ।’ मकै असिनाले नष्ट गरिदिएपछि पुनः रोप्ने अवस्था आएको फावाखोलाकै भूपेन्द्र लिम्बुले बताए ।

त्यस्तै सिदिङ्वा गाउँपालिकाको मेहेले, सुरुम्खिम, साब्लाखु लगायतका स्थानमा पनि असिना परेको छ । जिल्लामा यी गाउँमा अहिले अलैंची फुल खेल्ने र गहुँ, जौ थन्क्याउने, आलु गोड्ने समय हो ।
कोरोना भइरसको महामारीका बेला खाद्यान्न, नगदे तथा तरकारी बालीमा असिनाले क्षति गरेपछि भोकमारीको समस्या आउनसक्ने चिन्ता बढेको सिदिङ्वा गाउँपालिकाका कृषक लक्ष्मी घिमिरेले बताए ।
यसैबिच लामो समयको खडेरीपछि वर्षा भएकाले असिना नपरेको स्थानका कृषक भने खुसी भएका छन् ।





