उपसभामुख तुम्बाङफेद्वारा पदबाट राजीनामा, उनी भन्छिन् पितृसत्तासँगको लडाइँ रोकिँदैन


६ माघ २०७६, सोमबार १५:३३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाङफेले सोमबार पदबाट राजीनामा दिएकी छन् ।

सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सभामुख चयनका लागि मार्गप्रशस्त गरिदिएको घोषणा गरिन् । प्रतिनिधि सभामा सम्बोधन लगत्तै आफ्नो सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पितृसत्तासँगको लडाइँ नरोकिने बताइन् । ‘आजको दिनमा म लडाइँ भन्ने शब्द प्रयोग गर्न चाहन्छु । दलसँगको लडाइँमा प्रतिनिधिसभाको संस्थागत मर्यादा र संविधानको रक्षा गर्न सफल भएँ’, उनले पत्रकार सम्मेलनमा भनिन्, ‘प्रतिनिधिसभालाई नेतृत्वविहीन बनाउनुहुन्‍न भनेर मैले राजीनामा नदिएको हो ।

मैले एउटा लडाइँ गरे। प्रतिनिधिसभा एउटा संवैधानिक अंग हो । यो संस्था आफ्नै क्षेत्राधिकार भएको संस्था हो । यसको मर्यादा बचाउन सकेकोमा मेरो जित भएको छ।’ दलले दिएको निर्देशन नमानेको आरोप लागेको सन्दर्भमा उनले आफ्नो पहिलो दायित्व संस्थाको मर्यादा बचाउनु रहेको उल्लेख गरिन् । ‘दलको निर्देशन मान्नु भएन नि भनियो । तर म उपसभामुख दलको होइन, संस्थाको हो’, उनले थपिन्, ‘आग्रह भए विचार गर्न सकिन्थ्यो तर निर्देशन नै आएकाले मैले त्यसलाई मानिनँ।’

नेकपाका नेताहरुले भन्नेबित्तिकै राजीनामा दिएको भए जनताले औंला ठड्याउने अवस्था आउने उनले दाबी गरिन् । ‘नेताले भनेको मानिनँ, संवैधानिक व्यवस्था अनुसार लडाइँमा उत्रिएँ’, उनले थपिन्, ‘यस मामिलामा सकारात्मक भन्दा नकारात्मक कुरा लेख्ने पत्रकार साथीहरुबाट पनि ऊर्जा मिलेको छ । त्यसका लागि सबैलाई धन्यवाद ।’ प्रतिनिधिसभाको सभामुखका उम्मेदवार तय भएपछि मात्रै आफूले राजीनामा दिने अडान राखेको उनले स्मरण गराइन् । ‘तपाईंले कहिले दिनुहुन्छ राजीनामा ? भनेर सोधियो, तर सत्तापक्षले उम्मेदवार तयार पारेपछि मात्रै राजीनामा दिन्छु भनेको हो । बाजी मैले मारे मैले जितेको छु ।’ नेपालमा पितृसत्ताले जरा गाडेकाले त्यसविरुद्ध अबको लडाइँ हुने उनले बताइन् ।

‘हाम्रो देशमा पित्तृसत्ता सोचले जरा गाडेको छ । मुलुकमा रहेको पित्तृसंस्था सत्ता फाल्न अझै मिहिनेत गर्नुपर्छ’, उनले भनिन्, ‘पितृत्ता राजसंस्था भन्दा बलियो रहेछ, अहिले सकिनँ । मलाई तपाईंको ब्याकअपमा को छ ? भनेर सोधियो, तर मसँग संवैधानिक व्यवस्था व्याकअप थियो, कोही व्यक्ति थिएन ।’ उनले नेपाली महिलालाई अगाडि बढ्न अझै समस्या रहेको स्मरण गराइन् । ‘हामीलाई अघि बढ्न छेकबार लगाउनेलाई हटाउँदै जानुपर्छ’, उनले भनिन्, ‘अब मलाई तपाईंहरुले फरक भूमिकामा पाउनुहुनेछ । म त्यही लडाइँमा हुनेछु।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here