क्युवामा चार दशकपछि प्रधानमन्त्री नियुक्त


६ पुष २०७६, आईतवार १६:२२ मा प्रकाशित

क्युवा । क्युवाका राष्ट्रपति मिगुएल दाएज केनलले दैनिक प्रशासनका काम हेर्नेगरी सीमित अधिकारसहित चार दशकपछि प्रधानमन्त्री नियुक्त गरेका छन् ।

राष्ट्रपति केनलले लामो समयसम्म पर्यटनमन्त्रीको जिम्मेवारी सम्हालेका मारेरो क्रुजलाई शनिबार पाँच वर्षका लागि प्रधानमन्त्री नियुक्त गरेको क्युवाको समाचार संस्था एसिएनले जनाएको छ । क्युवामा फिडेल क्यास्ट्रोपछि मारेरो प्रधानमन्त्री बनेका हुन् । क्यास्ट्रोले सन् १९७६ डिसेम्बरमा राज्यपरिषद्को प्रमुख भएपछि क्युवामा प्रधानमन्त्रीय प्रणालीलाई अन्त्य गर्दै आफू राष्ट्रपति बनेका थिए । एसिएनले भनेको छ, ‘क्रुजको नियुक्तिलाई क्युवाको नेशनल एसेम्लीको शनिबार बसेको वार्षिक अधिवेशनको अन्तिम बैठकमा सभाका ५९४ सदस्यहरूले एकमतले अनुमोदन गरेका छन् ।’

क्युवाको कानून अनुसार कुनै पनि नयाँ नियुक्तिलाई सदर गर्न सभाको पूर्ण बहुमत आवश्यक पर्ने व्यवस्था रहेको छ । यसैगरी शनिबारको बैठकले नै उपप्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि जिम्मेवारी दिएको छ । क्युवामा केनल राष्ट्रप्रमुख रहेका छन् भने भूतपूर्व राष्ट्रपति तथा शक्तिशाली नेता राहुल क्यास्ट्रो कम्युनिष्ट पार्टीको प्रथम मन्त्री हुन् । उनीहरूबीच नै सरकार सञ्चालनको वास्तविक शक्तिनिहीत रहने गर्छ । क्युवाले तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रोको पालामा प्रधानमन्त्रीलाई हटाएर मन्त्रिपरिषद् राष्ट्रपतिप्रति नै जिम्मेवार रहने कानूनलाई संशोधन गर्दै सन् २०१९ को फेब्रुवरीमा भएको राष्ट्रव्यापी मतदानद्वारा नयाँ संविधान निर्माण गरिएको थियो ।

यसैअनुरूप प्रधानमन्त्रीको नियुक्ति भएको हो । नयाँ सविधानमा पनि क्युवामा एक दलीय राजनीतिक व्यवस्थाको कल्पना गरिएको छ । यहाँको एक मात्र दलका रूपमा कम्युनिष्ट पार्टी रहेको छ र यसैको निर्देशनमा सरकारको नीति निर्माणको मार्गदर्शन हुने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here