काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज (बिहीबार) सुनुवाइ हुँदैछ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको संयुक्त इजलासमा पूर्वसभामुख महरा मुद्दामा सुनुवाई हुनेछ । महराले गत मंसिर १७ गते उच्च अदालतमा निवेदन दिएका थिए । उनको निवेदन १७ नम्बरमा दर्ता भएको थियो । आजको सुनुवाइले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने भन्ने निर्णय हुनेछ ।
उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने महरा थुनामुक्त हुनेछन् । उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्नेछ । यसैबीच जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ । सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो ।
न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशले उनी डिल्लीबजार कारागारमा बसिरहेका छन् । उच्च अदालतको फैसला पनि महराका विरुद्ध भएमा उनी सर्वोच्च जान पाउने छन् । बलात्कार प्रयासको आरोप लागेपछि उनलाई गत असोज १९ मा पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको थियो ।





