काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले भुटानविरुद्ध ४–० को सहज जित निकालेको छ ।
नेपालका लागि सुजल श्रेष्ठले खेलको पाँचौ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । आक्रमक खेलेको नेपालले दोस्रो हाफमा तीन गोल थपिसकेको छ । नेपालका लागि खेलको ५० औँ मिनेटमा सुजल श्रेष्ठले नै अर्को गोल थप्दै खेललाई २–० को अवस्थामा पुर्याए । त्यसपछि खेलको ६६ औँ मिनेटमा अभिषेक रिजालले हेडमार्फत् गोल गर्दै अग्रता ३–० मा पुर्याए । नेपाल त्यतिमै रोकिएन ।
घरेलु मैदान र दर्शकको साथ पाएको नेपालका लागि खेलको ७७ औँ मिनेटमा मिचेन तामाङले उत्कृष्ट फ्री किक गोल गर्दै अग्रता ४–० मा पुर्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेकाले नेपालले सहज जित दर्ता गराएको हो । यसअघि महिला फुटबलमा नेपालले श्रीलंकालाई पोखरामा १–० गोलअन्तरले पराजित गरिसकेको छ ।





