मानव बेचबिखनमा संलग्न रहेको भन्दै एक महिला पक्राउ, चार युवतीको उद्धार


२३ कार्तिक २०७६, शनिबार ११:१२ मा प्रकाशित

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले मानव बेचबिखनमा संलग्न रहेको भन्दै शुक्रबार साँझ एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका २ बस्ने ९ वर्षीया सपना प्रजापती छिन् । रोजगारी दिलाइदिने भन्दै चार जना युवतीलाई भारतको नयाँदिल्ली लैजाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दक्षकुमार बस्नेतले बताए । ‘चारजना युवतीलाई घरमासमेत सम्पर्क गर्न नदिई काठमाडौंको कंलकीबाट धनगढी हुँदै सिमावर्ती भारतीय शहर पलिया पुगाएको सूचना पाएपछि भारतीय एसएसबीको सहयोगमा चारै जनाको उद्धार गरी प्रजापतीलाई पक्राउ गरिएको हो,’ डीएसपी बस्नेतले भने ।

उद्धार गरिएका युवतीहरु नुवाकोट, काठमाडौं, सिन्धुपाल्चोकका छन् । प्रहरीले चारैजना युवतीलाई शान्ति पुनःस्थापना गृह धनगढीमा राखेको छ । रोजगारीको बहानामा ती युवतीहरुलाई भारतमा बेच्न लैजान खोजिएको प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ परेकी प्रजापतीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here