बसको ठक्करबाट पूर्वसांसद रामलखन महतोको निधन


१६ कार्तिक २०७६, शनिबार १०:५८ मा प्रकाशित

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–१ मा बसको ठक्करबाट पूर्वसांसद रामलखन महतोको निधन भएको छ ।

बटेश्वर गाउँपालिका–१ का महतोलाई बा ५ ख ८१५ नम्बरको बसले ठक्कर दिएको हो । मिथिला नगरपालिका–१ स्थित जनकपुर–ढल्केवर सडकखण्डमा शैक्षिक भ्रमणका लागि काठमाडौँबाट जनकपुरतर्फ आइरहेको बसको ठक्करबाट पूर्वसांसद महतोको शुक्रबार निधन भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । महेन्द्रनगर जाँदै गरेका महतोलाई बसले ठक्कर दिई घाइते भएको र उपचारका लागि जनकपुर ल्याउने क्रममा निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महतो २०५१ सालको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धनुषा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई पराजित गरेका थिए । महतो नेकपा माओवादीमा आवद्ध भएका थिए । उनी पछिल्लो समय मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रिय सदस्य हुन् । उनको एक छोरा र एक छोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here