काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुमा भएको असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिएर फर्किएका छन् ।
उनी कतारको दोहा हुँदै आइतबार बिहान त्रिभुवन विमानस्थलमा उत्रिने क्रममा सर्वसाधरण सवार अन्य जहाज होल्ड गरिएपछि यात्रु प्रतिकारमा उत्रिएका छन् । ओली काठमाडौं फर्किने क्रममा त्रिभुवन विमानस्थलमा अन्य जहाज एक घण्टा भन्दा धेरै होल्ड भएका थिए । त्यसक्रममा रोकिएका यात्रुले प्रतिवाद गरेका हुन् । विमानस्थलमै रोकिएका जहाजका यात्रुले ओर्लिएर विरोध जनाएका हुन् । श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं बाहिर जान लागेका यात्रुले विरोध जनाएपछि सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको थियो ।
विमानस्थलको धावनमार्गमै झरेर विरोधमा उत्रिएका यात्रुलाई रोक्न सुरक्षाकर्मी परिचालन गरियो । त्यसक्रममा प्रधानमन्त्रीको स्वागतमा बसेका मन्त्रीहरुसमेत अलमलमा परेका थिए ।





