मोतिहारीदेखि चितवनसम्म एलपिजी ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण गरिने


९ कार्तिक २०७६, शनिबार १३:०० मा प्रकाशित

काठमाडौं । भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण गरिने भएको छ ।

मोतिहारीदेखि अमलेखगञ्जसम्म हालै पेट्रोलियम पाइपलाइन निर्माण गरिसकिएको छ । नेपाल आयल निगमका अनुसार अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गर्न लागिएको हो । शनिबार अमलेखगञ्ज पुगेर उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले निगमको अमलेखगञ्ज डिपो परिसरमा मोतिहारीदेखि अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनलाई बिस्तार गरी चितवन लोथर पुर्‍याउने कार्यको शुभारम्भ गरे । यस्तै मोतिहारीदेखि चितवनसम्म बेग्लै एलपिजी ग्यास पाइपलाइन पनि निर्माण गर्न लागिएको छ । उक्त योजनाका लागि सर्भे गर्ने कामको सुरूवात भएको मन्त्री यादवले घोषणा गरेका हुन् । लोथरमा एलपिजी ग्यास भण्डारण गर्ने ठाउँ पनि निर्माण गर्ने निगमको योजना छ ।

अमलेखगञ्जदेखि लोथरसम्म पेट्रोलियम पाइपलाइनको दुरी ६२ किलोमिटरको हुनेछ । एलपिजी ग्यास पाइपलाइन चितवनदेखि अमलेखगञ्ज हुँदै मोतिहारीसम्म ९८ किलोमिटर दुरीको हुने निगमले जनाएको छ । पाइपलाइन निर्माण भएपछि प्रतिघण्टा पेट्रोलियम पदार्थ २ सय ९० किलोलिटर ढुवानी गर्न सकिन्छ भने करिब एक सय टन प्रतिघण्टा ग्यास ढुवानी गर्न सकिन्छ । लोथरमा पेट्रोलियम पदार्थ एक लाख किलोलिटर र २० हजार मेक्ट्रिकटन ग्यास भण्डारण क्षमताको ठाउँ बनाइने निगमको तयारी छ ।

पेट्रोलियम पाइपलाइन निर्माणमा करिब पाँच अर्ब रूपैंया र भण्डारण ठाउँ निर्माणमा चार अर्ब रूपैंयाभन्दा बढी लगानी लाग्ने निगमले जानकारी दिएको छ । यस्तै एलपिजी ग्यास पाइपलाइन निर्माणमा करिब ११ अर्ब रूपैंया र भण्डारणमा तीन अर्ब रूपैंयाँ लगानी चाहिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here