महरामाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले बुझायो सरकारी वकिललाई


८ कार्तिक २०७६, शुक्रबार १७:५० मा प्रकाशित

काठमाडौं । प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महारामाथि लागेको बलात्कार प्रयाससम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

महरालाई दोस्रोपटक सात दिन हिरासतमा राख्ने अनुमति लिएको भोलिपल्ट शुक्रबार प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले महारामाथिको मुद्दाको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको जानकारी दिए । २० दिन लगाएर तयार पारेको रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको उनले बताए ।  महारालाई मुलुकी अपराध संहिता ऐन २०७४ को बलात्कार प्रयास र यौन दुव्र्यवहार सम्बन्धी कसुरमा कैद तथा सजायको माग गरिएको स्रोतले बतायो ।

अनुसन्धान प्रतिवेदनका आधारमा अब सरकारी वकिलले थप अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिन सक्छ वा अभियोगपत्र अदालतमा दर्ता गर्न सक्छ । मुद्दा नचलाउने निर्णय गर्न सक्ने अधिकार पनि सरकारी वकिलको कार्यालयलाई छ । यस सम्बन्धीको निर्णय भने शुक्रबार आउने सम्भावना कम रहेको स्रोतको भनाइ छ । संसद सचिवालयकी कर्मचारी रोशनी साहीमाथि बलात्कार प्रयासको आरोपमा उनलाई गत असोज १९ गते सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ गरिएको थियो । गत असोज १२ गते राति शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महारामाथि किटानी जाहेरी परेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here