बैतडी । सडक निर्माणका क्रममा डोजरले महिलामाथि हमला गरेको बैतडीको दशरथचन्द नगरपालिका ९ को ग्वाल्लेकको घटनामा थप तीनजनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत बैतडीबाट बिहीबार सातदिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धानका जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । उनीहरूलाई लागेको आरोप प्रमाणित भएमा कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । यसअघि डोजर चालक किशोर बोहरालाई मंगलबार अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ । ग्वाल्लेकमा सडक निर्माणका क्रममा सोमबार कात्तिक ४ गते दुई पक्षबीच झडप हुँदा डोजरले स्थानीय गौरी जोशीलाई हुत्याएको थियो । डोजरले हुत्याउँदा घाइते भएकी गौरी बाँकेको कोहलपुरमा उपचारमा पछि घर फर्किएकी छन् । चिलाउनेदेखि पार्ससम्म सडक निर्माणका क्रममा निर्माण पक्षले जबरजस्ती गर्दा घटना भएको जमिनवाला पक्षले आरोप लगाएको छ । तर निर्माण पक्षले भने जमीनवाला पक्षले पहिला ढुंगामुढा गरेको आरोप लगाएको छ ।
दुई पक्षबीच झडप हुँदा गौरीसहित ८ जना घाइते भएका थिए। घटनाको सत्यतथ्य सार्वजनिक गर्नको लागि जिल्ला प्रसासन कार्यालयले छानबिन टोली समेत गठन गरेको थियो । मंगलबार गठित समितिले शुक्रबार प्रतिवेदन बुझाउने भएको छ । समितिले बुधबार स्थलगत अध्ययन समेत गरेको थियो । सत्ता र शक्तिका आडमा डोजर काण्डः कांग्रेस बैतडीको दशरथचन्द नगरपालिका ९ को ग्वाल्लेकमा सडक निर्माण गर्दा भएको घटना सत्ता र शक्तिका आडमा भएको नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले निष्कर्ष निकालेको छ । कांग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको दाबी गरेको छ । डोजर मालिक आफैँले दबाबमा परेर डोजर चलाउन बाध्य भएको बताएकाले यसबाट उनलाई सत्ताकै मान्छेहरूले डोजर चलाउन दबाब दिएको बुझिएको छानबिन समितिका संयोजक बहादुरसिंह थापाले बताए । उनले भने, ‘डोजर मालिकसँग कुराकानी गर्दा दबाब थेग्न नसकेर डोजर चलाएको हो भनेकाले यसमा सत्ताका मान्छेहरूको संलग्नता रहेको छ।’ ग्वाल्लेक घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको कांग्रेसले आरोप लगाएको छ ।
संयोजक थापाले जमीनवाला मान्छे असोज २७ गते प्रशासनमा आएर ‘हाम्रो गाउँमा समस्या छ, मिलाई दिनु’ भनेर आएका तर प्रशासनले यो कुरालाई ध्यानमा नराखेको पाइएको थापाको भनाई छ । सडक निर्माणका लागि कुनै बजेट र योजनाबिना दुवै पक्ष सहमत नभएरै सडक खन्न खोज्दा झडपको स्थिति आएको र एक महिला घाइते भएको कांग्रेसको छानबिन टोलीले बताएको छ । यो घटनामा सडक निर्माण पक्षले जबरजस्ती गर्न खोजेको संयोजक थापाले बताए। दुवै पक्षबीच सहमति नभइकन डोजर चलाउनाले अहिले सामाजिक सद्भावमा नै समस्या ल्याएको छ उनले भने, ‘स्थलगत रिपोर्टिङ गरेपछि अब स्थानीय प्रशासन, राजनीतिक दल र अन्य सरोकारवालासँग बसेर प्रतिवेदन बनाइने छ ।’ ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले एक महिलालाई हुत्याएपछि कांग्रेस केन्द्रीय कार्यालयले बहादुरसिंह थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले बुधबार घटनास्थलमा पुगेर जानकारी संकलन गरेको थियो ।





