नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास


४ कार्तिक २०७६, सोमबार १८:४३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नागढुंगा–सिस्नेखोला सुरुङमार्ग शिलान्यास गरेका छन् ।

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सवारी–साधन आवत–जावतका लागि प्रयोग गरिने नेपालकै पहिलो सो सुरुङमार्ग चन्द्रागिरि नगरपालिका–१, टोटेपाखामा आयोजित समारोहमा शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले त्यहाँस्थित शिलापत्र पनि अनावरण पनि गरे । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा सुरु गरिएको सो सुरुङमार्गका लागि रु २२ अर्ब लाग्ने अनुमान गरिएको छ । त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने जनाइएको छ ।

प्रवेशमार्गसहित ५.५६ किमि सुरुङमार्ग निर्माणले नेपालको पूर्वाधार  विकासमा महत्वपूर्ण योगदान दिने विश्वास गरिएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजना निर्देशक श्यामप्रसाद खरेलले राससलाई बताए । करिब रु ६ अर्ब स्थानीय पीडितलाई मुआब्जा वितरणमै खर्च हुनेछ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर–१, ३ र ५ का पीडितलाई मुआब्जा वितरण भइरहेको छ । हालसम्म मुआब्जा वितरणको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसअघि, जलविद्युत् र खानेपानी आयोजनाका लागि लागि सुरुङ निर्माण भएपनि यातायात नै सन्चालन हुनेगरी पहिलोपटक निर्माण गर्न लागिएको उक्त सुरुङमार्गमा दुईओटा साना ‘फ्लाइओभर’समेत निर्माण गरिने आयोजना निर्देशक खरेलले बताए । सुरुङमार्गकै मुखमा र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको हो । सडक पूर्वाधारमा यहाँ निर्माण हुन लागेको ‘फ्लाइओभर’ पनि नेपालकै पहिलो हो ।

सुरुङमार्ग निर्माणका लागि यही असोज ६ गते जापानी हाज्मा आङदो कर्पोरेसनसँग सम्झौता भएको थियो । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेशमार्गसमेत निर्माण गरिने भएको छ । सोही परियोजनाअन्तर्गत् स्थानीय उत्पादन संकलन केन्द्र (सर्भिस सेन्टर) निर्माण हुने आयोजनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here