काठमाडौं । अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्व ५० करोड डलर अमेरिकी बराबरका सामानमा करबृद्धि गर्ने घोषणा गरेको छ ।
अमेरिकी करवृद्धिको प्रत्यक्ष असर एयरबस, फ्रान्सेली मदिरा र स्कटल्यान्डको ह्विस्कीमा परेको छ । ती सामान अमेरिकामा सर्वा्धिक निर्यात हुने वस्तुको सूचीमा रहेको बताइएको छ । युरोपेली संघका पदाधिकारी र अमेरिकी व्यापार प्रतिनिधिहरुबीच करवृद्धिका विषयमा वार्ता भए पनि अन्त्यमा वार्ता बिफल भएको जनाइएको छ ।
चीनका साथै युरोपेली संघसँग पनि व्यापार गतिरोध बढेका कारण विश्व अर्थव्यवस्थामा थप सङ्कट निम्त्याउने विश्लेषकहरुको अनुमान छ । विमान निर्माता कम्पनी एयरबसका नागरिक उड्डयनका विमानहरु अमेरिका आयात गर्दा १० प्रतिशत करवृद्धि हुने नयाँ घोषणामा उल्लेख छ । एयरबसमा बेलायत, फ्रान्स, जर्मनी र स्पेनको लगानी रहेको छ ।
गत बुधबार राष्ट्रपति ट्रम्पले युरोपेली संघसँग देखिएका द्विपक्षीय व्यापारका समस्या सुल्झाउन आफू खुला रहेको बताएका थिए । उनले युरोपेली संघसँग व्यापार घाटा बढेकाले त्यसको न्यूनीकरण गर्न आफू जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।





