नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताउनुभएको छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले काँग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गर्नुभयो ।
विगतमा मुलुकले व्यहोरेका अनेकौं प्रतिकूलतालाई चिर्न सफल काँग्रेसले आफ्नै प्रतिकूलतालाई पनि सजिलै चिर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा काँग्रेसले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने शर्माले प्रष्ट पार्नुभयो । अब काँग्रेसले आराम नगर्ने बरु संगठन रूपान्तरण गर्दै नवीन सम्भावनाको खोजीमा लाग्ने प्रतिवद्धतासहित उहाँले बताउनु भयो ।






