‘माटोदेखि मैदानसम्म’ भन्ने मूल नाराका साथ नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो संस्करण आयोजना हुने भएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी जुन ५ देखि दशरथ रङ्गशालामा प्रतियोगिता शुरु हुने औपचारिक घोषणा गरिएको हो । यस पटकको लिगमा ५० देशका ६ सय भन्दा बढी खेलाडीहरूले दर्ता गरिसकेका छन् । जसमध्ये ५ सय १२ जना नेपाली खेलाडीहरू रहेका छन् ।
अघिल्लो सिजनको तुलनामा खेलाडीहरूको संख्या दोब्बर हुनुले नेपाल कबड्डीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै गएको प्रष्ट भएको आयोजकको भनाइ छ । कार्यक्रममा पशुपतिनाथ मन्दिर, स्तम्भ र कबड्डी खेलाडीहरूको कलात्मक प्रतिबिम्ब झल्किने नयाँ आकर्षक ट्रफी पनि सार्वजनिक गरिएको छ ।
कान्तिपुर म्याक्समार्फत प्रत्यक्ष प्रसारण हुने यस प्रतियोगिताले नेपाली खेलाडीहरूलाई विश्वव्यापी मञ्चमा पु¥याउने र कबड्डीलाई नयाँ उचाइ दिने लक्ष्य राखेको आयोजको विश्वास छ ।






