रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी


२३ मंसिर २०८२, सोमबार ११:२८ मा प्रकाशित


काठमाडौं ।
 निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास फैलाएको बताउनुभएको छ । 
सोमवार निर्माण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरुलाई राज्यले प्रताडित गर्न नहुने बताउनुभएको हो ।

उहाँकाअनुसार एकतर्फी रुपमा आम जनतालाई निर्माण उद्योगको मात्रै त्रुटी देखाएर जनतासमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रुपमा हुनुपर्ने बताउँदै उहाँले सार्वजनिक ऐनको दफा, ६९ को ३ र ८ यथाशिघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्ने समेत बताउनु भयो ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दिले असर गरेको बताउनु भयो । उहाँकाअनुसार हिजोका दिनमा गरिएका कानूनी त्रुटी, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरुले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धि त्रुटीहरुलाई सुधारेर लैजानुपर्ने उहाँको भनाइ छ ।

उहाँले ठेक्का व्यवस्थापनका नाममा सबै रुग्ण ठेक्काहरु नतोडिएको समेत बताउनु भयो । सिग्देलकाअनुसार कतिपय ठेक्काहरु चेतावनी पछि अघि बढाइएको छ । निर्माण व्यवसायी महासंघले १८ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा सोमवार बिहान प्रभातफेरी समेत आयोजना गरेको छ । साथै महासंघको कार्यालयमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here