हल्दीबारी–२ र ३ जोड्ने भुसुडी खोलामा पक्की पुल उद्घाटन, पाँच सय घरधुरी लाभान्वित


१२ मंसिर २०८२, बिहीबार १४:५३ मा प्रकाशित

हल्दीबारी । हल्दीबारी गाउँपालिका–२ र ३ लाई जोड्ने (लक्ष्मी मावि) पूर्वस्थित भुसुडी खोलामा निर्माण गरिएको पक्की पुल एक विशेष समारोहका बीच आज उद्घाटन गरिएको छ ।

गाउँपालिकाको १ करोड ३० लाख रुपैयाँको बजेटमा निर्माण भएको उक्त पुलको २६.८० मिटर लम्बाइ तथा ७.५ मिटर चौडाइ रहेको छ । सो पुल सञ्चालनमा आएपछि करिब पाँच सय घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । उक्त पुलको गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्गदेन र उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनमहेन्द्रले स्वागत मन्तव्य राख्दै पुल निर्माणको आवश्यकता, महत्व तथा लागतसम्बन्धी विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले पुलले गाउँपालिकाको समग्र यातायात व्यवस्था, शिक्षा, स्वास्थ्य तथा आर्थिक क्षेत्रको विकासमा टेवा पु¥याउने बताउनुभयो ।

स्थानीयवासीहरूले वर्षात्को समयमा अस्थायी र जोखिमपूर्ण बाटो प्रयोग गरेर खोलापार गर्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै पक्की पुल बनेपछि आवागमन सुरक्षित, सरल र दिगो भएको प्रतिक्रिया व्यक्त गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष लिङ्गदेनले पुलले दुई वडाबीचको मात्र दूरी घटाएको होइन, व्यापारिक पहुँच, सामाजिक समन्वय र सेवा–सुविधाको सहजतामा पनि नयाँ गति थपेको बताउनुभयो ।

उहाँले आगामी वर्षहरूमा अन्य पूर्वाधार विकासमा पनि प्राथमिकता दिइने उल्लेख गर्नुभयो । पुल सञ्चालनमा आएसँगै क्षेत्रका किसानको कृषि उत्पादन बजारसम्म पु¥याउने सहजता, विद्यार्थीहरूको विद्यालय आवतजावतमा सुधार, व्यवसायिक तथा आपतकालीन सेवामा उल्लेखनीय वृद्धि हुने स्थानीयवासीहरूको अपेक्षा छ ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष विष्णु प्रसाद ओली, नेपाली कांग्रेस हल्दीबारीका सभापति गंगाप्रसाद प्रसाई, नेकपा एमाले हल्दीबारीका अध्यक्ष त्रिलोचन सापकोटालगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि, विद्यालय परिवार, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूले सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here