बिर्तामोड । आज बालाचतुर्दशी, पूर्वको पशुपतिका रुपमा परिचित अर्जुनधारा जलेश्वर धाम लगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
आजका दिन दीपदान र शतबीज छर्ने गरिन्छ । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको नाममा शतबीज छर्ने गर्छन् ।
हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन अर्जनुनधारामा आउने गर्छन् । मंगलबार बेलुकादेखि नै अर्जनुनधारा क्षेत्रमा भक्तजनको घुइँचो लागेको हो । बालाचतुर्दशीको अघिल्लो दिन पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बसेकाहरुले आज बिहानै शतबीज छरेका छन् ।
धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो गरी सात प्रकारका अन्न मिसाइएको शतबीज छर्ने चलन छ ।






