काठमाडौं । भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचन घोषणा गरेको छ ।
अन्तरिम सरकारले गरेको प्रतिनिधि सभा विघटनलाई देशका प्रमुख दलहरुले असंवैधानिक ठहर गरेका छन् । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत परेको छ । राजनीतिक दलहरुले संसद विघटनलाई असंवैधानिक बताएपनि नेताहरुले भने सरकारले घोषणा गरेको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन् ।
नेताहरुले निर्वाचनको विकल्प नभएको बताएपनि दुई ठूला दल नेपाली काँग्रेस र एमालेले भने आधिकारिक रुपमा निर्वाचनमा जाने सम्बन्धि निर्णय भने गरेका छैनन् । जेन–जी आन्दोलनले सत्ताच्युत भएको नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक हाल जारी छ । नेकपा एमालेले भने संसद पुनःस्थापनामा नै जोड दिएको छ । अन्य साना राजनितिक दलहरुले भने निर्वाचनमा जाने निर्णय गरिसकेका छन् ।
नेपाली काँग्रेसको बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले निर्वाचनमा जानुपर्ने बताएका छन् । पार्टीको केन्द्रिय समितिको बैठकमा सरकारले घोषणा गरेको निर्वाचनमा भाग लिनेमा सबै केन्द्रिय सदस्यहरुको मत रहेको नेपाली काँग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।
गत असोजमा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा संसद पुनःस्थापनाको निर्णयमा लेखाइएको भएपनि केन्द्रिय समितिमा संसद पुनःस्थापनाको विषयलाई एजेण्डा बनाइएको छैन । संविधानलाई सही ट्रयाकमा ल्याउन पनि निर्वाचन अपरिहार्य रहेको उहाँको भनाई छ ।
उहाँकाअनुसार पार्टीभित्र केही केन्द्रिय सदस्यहरु भने संसद पुनःस्थापनाबाट मात्रै समाधान खोज्नुपर्ने पक्षमा छन् । तर चुनावमा सहभागी हुने धारणा बलियो बन्दै गएको उहाँले बताउनु भयो । विशेष गरेर संसदमा रहेका नेताहरुले संसद पुनःस्थापनामा केही जोड दिएको उहाँको भनाई छ । उहाँले असोजमा बसेको बैठकमा संसद पुनःस्थापनाको पक्षमा अडान लिने नेताहरु अहिले केन्द्रिय समितिमा भने मौन रहेको बताउनु भयो ।






