रामराज्य ल्याइदिउँ जस्तो लाग्छ तर भन्नेबित्तिकै सबै हुँदैनः बाबुराम भट्टराई


२१ कार्तिक २०८२, बिहीबार १७:११ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिमा आन्तरिक र वाह्य शक्तिहरुले खेलिरहने भन्दै भनेअनुसार सबै काम गर्न नसकिने बताउनुभएको छ । 


काठमाडौंमा बिहीवार आयोजित जेन–जी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिमा देश भित्र र बाहिरका दृश्य, अदृश्य शक्तिहरुले काम गरिरहने हुँदा भनेअनुसार सबै काम गर्न नसकिने बताउनु भयो ।

ती शक्तिहरुसँग सन्तुलन मिलाएर अघि बढ्दै आफ्ना एजेण्डाहरु लागू गर्नुपर्ने उहाँको भनाई छ । रामराज्य ल्याईदिउँ भन्ने चाहना भएपनि भन्नेबित्तिकै केही नहुने टिप्पणी गर्नुभयो । उहाँले अबको लोकतन्त्र समावेशी र सहभागीयुक्त हुनुपर्ने बताउनु भयो ।

गणतन्त्रको विकल्प नभएको उल्लेख गर्नुहुँदै उहाँले वंशाणुगत जन्मजात नै कोही राजा हुनुपर्ने अलोकतान्त्रिक व्यवस्था मान्य नहुने बताउनु भयो । उहाँले नेपालको संविधानमा वर्गीय, जातिय, क्षेत्रिय, लैङ्गिक र जातपातजन्य वर्ण विरोधको अन्त्यगर्नेगरी राज्यको पुनःसंरचना गर्ने भन्ने उल्लेख भएकोले सोहीअनुरुप अगाडी बढ्नुपर्ने बताउनु भयो । 

जेन–जी अगुवा अमित खनालले नेपालका राजनितक दलहरुको विचारमा परिवर्तन हुन नसकेको बताउनु भयो । माक्र्सबाट लेनिन, लेनिनबाट माओ आउँदै गर्दा केही न केही परिवर्तन भएको भएपनि नेपालमा राजनितिक दलहरुको भने २०६३ सालमा बोकेका एजेण्डा अझै बोकेर हिँडिरहेको बताउनु भयो । 

जेन–जी अगुवा माजिद अन्सारीले सुरक्षा निकायको भुमिकामाथी प्रश्न उठाउनु भयो । प्रहरीले जेन–जी आन्दोलनका क्रममा लाठी चार्ज गर्नुपर्ने ठाउँमा प्रहरीले गोली चलाएको र राष्टको धरोहर बचाउनुपर्ने ठाउँमा देखा नै नपरेको उहाँको भनाई छ । उहाँले आन्दोलनकारीलाई बदनाम गर्ने चलन बढेको पनि बताउनु भयो । आन्दोलनका क्रममा अराजकता मच्चाउनेलाई कारबाही गर्नुपर्ने भएपनि हाल मधेसी, मुसहर, दलित, जनजातीका अनुहार मात्रै पक्राउ परेको उल्लेख गर्नुभयो ।  

राजनीतिक संवाद समितिले काठमाडौंको बानेश्वरस्थित इन्द्रेणीमा बिहीवार जेनजी अगुवाहरुसँग अन्तरसंवाद कार्यक्रममा गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here