टिचिङ पुगेर सञ्चारमन्त्री खरेलले भेटे जेन—जी आन्दोलनका घाइते


१० आश्विन २०८२, शुक्रबार १३:२८ मा प्रकाशित


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गर्नुभएको छ ।


शुक्रवार मध्यान्ह सञ्चारमन्त्री खरेल त्रिवी शिक्षण अस्पताल पुगेर जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई भेट्नुभएको हो । गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो ।

आन्दोलनमा गोली लागेर सयौँ घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन केपी शर्मा ओली सरकार पतन भयो र अन्तरिम सरकारकी प्रधानमन्त्रीको रुपमा सुशीला कार्की नियुक्त हुनुभएको छ । कार्की मन्त्रीपरिषद्मा सञ्चारमन्त्रीको रुपमा खरेल नियुक्त हुनुभएको छ ।

मन्त्री नियुक्त भएको केही दिनपछि उहाँले शुक्रवार जेन—जी आन्दोलनका घाइतेहरुसँग भेट गरेर उहाँहरुको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको हो । साथै घाइतेहरुको स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो ।

घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग उहाँले घाइतेहरुको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने र जेन—जीको चाहनाअनुसार आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here