जेन–जी पुस्ताको आन्दोलनमा क्षतिग्रस्त प्रहरी कार्यालयहरूको पुनःनिर्माण शुरु


२७ भाद्र २०८२, शुक्रबार १५:२१ मा प्रकाशित


काठमाडौं । जेन–जी पुस्ताको आन्दोलनमा खण्डहर भएका तथा क्षति पुगेका  प्रहरी कार्यालयहरुको पुनःनिर्माण कार्य सुरु भएको छ ।


हातहतियारसहित कार्यालय तथा इकाई छोडेर गएका प्रहरीहरु जिम्मेवारीमा फर्किन थालेसँगै आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचना पुनःनिर्माणको कार्य शुरु भएको हो । काठमाडौंको तीनकुने र कोटेश्वरका प्रहरी कार्यालयहरु पुनःनिर्माणको काम शुक्रवार बिहानैदेखि थालिएको छ ।

आन्दोलनका क्रममा कार्यालय छोडेर सुरक्षित स्थानतर्फ गएका प्रहरीहरुलाई स्वागत गर्दै स्थानीय नै सुरक्षा निकायका संरचना पुनःनिर्माण गर्न अग्रसर भएका छन् । काटेश्वर व्यवसायी प्रज्ञा प्रतिष्ठान, कोटेश्वर व्यवसायी संघ र कोटेश्वर बहुमुखी क्याम्पसलगायत सस्थाहरुले ‘हाम्रो प्रहरी प्रभाग हामी नै बनाउछौं’ भन्ने अभियानका साथ पुनःनिर्माणको काम अघि बढाएको कोटेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष सञ्जय बुढाथोकीले बताउनुभयो ।

कोटेश्वरमा देशभरीकै नागरिक बस्ने भएकोले तथा आवश्यक सुरक्षा दिन नसक्दा चोरी डकैटी बढेको उहाँको भनाइ छ । प्रहरीका क्षतीग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्थानीय सरकार अग्रसर हुनुपर्नेमा उहाँको जोड छ । 


यही २३ र २४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनका क्रममा चार दर्जनबढी व्यक्तिको मुत्यु हुनुको साथै सिंहदरबारसहति राज्य संरचना ठुलो क्षति पुगेको छ । मृतकको शव व्यवस्थापनको कार्य समेत काठमाडौं महानगरपालिकाले शुरु गरेको छ । यद्यपि भौतिक पूर्वाधारहरुको क्षतिको  मूल्याङ्कन गर्न शुरु भइसकेको छैन । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here