काठमाडौं । उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फछ्र्यौट गरेको छ ।
बिहीवार आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भएको बताउनु भयो ।
त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फछ्र्यौट गर्नुपर्ने लक्ष्य रहेकोमा यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फछ्र्यौट गरेको बताउनु भयो । असार २५ गतेसम्म कुल लक्ष्यको ९९.२१ प्रतिशत मुद्दा फछ्र्यौट भएको बताउनु भयो ।
अझै ५ दिन बाँकी रहेको र यो समयसम्म शतप्रतिशत लक्ष्य हाँसिल गर्ने दाबी गर्नुभयो । उच्च अदालत पाटनको इतिहासमै पहिलो पटक दुई वर्ष नाघेका मुद्दाहरु शुन्य बनाउन सफल भएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पहिलो वर्ष पूरा गरेको र सबै अदालतहरुको प्रगति सन्तोषजनक रहेको बताउनु भयो । योजनाले राखेका लक्ष्यहरुतर्फ प्रयास उन्मुख रहेको बताउनु भयो ।
पाटन उच्च अदालतले लक्ष्य प्राप्ति पूरा गरेको बताउनु भयो । न्याय सम्पादन छिटो, छरितो बनाउने कुरा नै महत्वपूर्ण रहेको बताउनु भयो । नयाँ दर्ता हुने मुद्दाको संख्या पनि बढेको बताउनु भयो । उहाँले आागमी आर्थिक वर्षमा मुद्दाहरु १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अघि बढ्ने बताउनु भयो ।






