मलाई स्पष्टीकरण सोधिएको छैन, म नै भ्रम छरेको बारेमा स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेतृ झाँक्री


१९ असार २०८२, बिहीबार १३:५० मा प्रकाशित


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा कुनै सत्यता नरहेको बताउनुभएको छ ।


पार्टी केन्द्रिय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताउनु भयो ।

अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठूलो केही नेताहरुले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको बतउनु भयो । बुटवलमा पार्टीसंवद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभावी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनुभएको थियो । स्पष्टीकरण सोधिएको भन्ने समाचार आएको तर आफूलाई नसोधिएको बारेमा पार्टीले गरेको निर्णय बुझ्न आफू नै सचिवालय बैठकमा नेताहरुसँग निवेदन लिएर आएको स्पष्ट पार्नुभयो । 


नेतृ झाँक्रीले पार्टीलाई आफ्नो कारणले कुनै हानी नहोस् भनेर आफ्नो तहको बैठक नभएपनि सचिवालय बैठकमै आएर आफ्नो बारेमा छरिएका भ्रमबारे जान्ने चाहनाअनुसार निवेदन दिएको जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here