‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’


३ असार २०८२, मंगलवार १२:१८ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै विक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ ।


अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए । कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आउनुभएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्युन भएको र बेच्न समेत नसक्ने अवस्था आएको बताउनु भयो ।

उहाँकाअनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछि उत्पादन ज्यादा भएको बताउनु भयो । धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रने गरेको छ । खेतबारीको तरकारी सिध्यिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना  छ । लौका १५–२० रुपैयाँ, करेला २०–२५ रुपैया, बोडी १५–२० रुपैयाँमा बेच्नु परेको कुनै भाउ छैन । न व्यापारीलाई फाइदा न किसानलाई । 

व्यापारीहरुका अनुसार अहिले तरकारी नबिकेर कुहिएर फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरुलाई ठूलोमात्रमा घाटा लागिरहेको उनीहरुको भनाई छ । 
कालिमाटीमा व्यापार गर्दै आउनुभएका अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताउनु भयो । उहाँले नेपाली तरकारीसँगै भारतीय समेत केही आएकाले बजारमा धेरै तरकारी भएको बताउनु भयो । 

तरकारीसँगै फलफूलको मूल्य समेत गत वर्षको भन्दा सस्तो रहेको कालिमाटीका व्यापारीहरुको भनाई रहेको छ । 
कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मंगलवारका लागि लोकल गोलभेंडा २९, ठूलो गोलभेंडा ९५, मकैबोडी ४६, मटरकोशा १५२, लौका १७, घिरौंला ३२, रायो साग ४२ र न्युरो प्रतिकिलो २८ रुपैँया तोकेको छ भने कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार कुरिलो प्रतिकिलो ३०० रुपियाँ तोकेको छ ।  
त्यस्तै, कन्य च्याउको भाउ १ सय ४५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here