बंगलादेशसँग बिजुली विक्री शुरू


१ असार २०८२, आईतवार १०:१६ मा प्रकाशित

काठमाडौं ।  नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत व्यवसायीक रूपमा पहिलो पटक निर्यात शुरू गरेको छ । अहिले उत्पादित विद्युतले स्वदेशमा माग पूरा गरी तेस्रो देश बंगलादेशमा निर्यात शुरू गरिएको हो । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालले आजबाट विद्युत बंगलादेशलाई निर्यात गर्नुले देश समृद्धिको दिशामा बढेको बताउनु भयो । उहाँले नेपाल तेस्रो मुलुक विद्युत निर्यात गर्ने दक्षिण एशियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताउनु भयो । 


मन्त्री खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत बेच्ने सम्झौता भएको थियो । उर्जामन्त्री खड्का, भारतका विद्युतमन्त्री मनोहर लाल र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी विद्युत निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो । सो सम्झौताअनुसार हरेक वर्षायामको ५ महिना अर्थात हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली विक्री गर्ने सम्झौता भएको थियो ।

सो सम्झौतासँगै आजबाट बंगलादेश विद्युत निर्यात गर्न लागिएको हो । यसअघि सम्झौता भएसँगै १ दिन विद्युत विक्री गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली विक्री गरिएको थियो । यसबाट ३० हजार ८० डलर आम्दानी भएको प्राधिकरण जनाएको छ । यसअघि नेपाल र भारतबीच मात्र विद्युत व्यापार हुँदै आएको थियो । 


नेपालमा उत्पादित विद्युत भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई विक्री गर्न लागिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रशारण लाइन  ढल्केबर–मुजफ्फरपुर ४०० केभीमार्फत विक्री गर्न लागिएको हो । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रशारण लाइन हुँदै बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रशारण लाइनमार्फत विद्युत बंगलादेश पुग्नेछ ।  


विद्युत प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुनेछ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म  अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात गर्ने सहमति भएको छ भने भारतले सरकारले पनि प्रशारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको हो । 
नेपालमा वर्षायाममा बढी भएको विद्युत मध्ये ४० मेगावाट विद्युत पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई विक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत विक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी यसअघि नै सम्झौता भइसकेको छ । 


प्राधिकरणले मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै व्यहोर्ने सहमति छ । नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेण्ट बोर्ड (बीपीडीबी) ले शुल्क तिर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here