काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताउनुभएको छ ।
काँग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताउनु भयो । उहाँले नेपाल आयातमा निर्भर रहेको भन्दै आत्मनिर्भरतातर्फ अग्रसर हुनुपर्ने बताउनु भयो । सभापति देउवाले उद्योगपतिले उद्योग खोल्ने र व्यापारीले व्यापार गर्नुपर्ने बताउनु भयो ।
व्यापारी र उद्योगीहरुलाई उद्योग खोलेर व्यापार गर्न आग्रह गर्दै आफूहरु सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले नेपालको उत्पादन गुणस्तरीय हुनसके विश्व बजारमा प्रतिष्पर्धा गर्न सकिने बताउनु भयो । पहाडमा वृक्षारोपण गर्न र पहाड बचाउन जरुरी रहेको बताउनु भयो । नेपाललाई हराभरा बनाउन जरुरी रहेको बताउनु भयो ।
सभापति देउवाले जलवायु परिवर्तनका कारणले नेपालका हिमालहरु नाङ्गो भइसकेको बताउनु भयो । उहाँले नेपालले ४० प्रतिशत जंगल बचाउँदा केही राहत भइरहेको बताउनु भयो । हिमाल बचाउन महत्वपूर्ण कदम चाल्नुपर्ने बताउनु भयो । जलवायु परिवर्तनका कारण नेपाल धेरै ठूलो समस्यामा पर्ने जिकिर गर्नुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमानेपनि अरु सबै देशले जलवायु न्युनिकरणका लागि काम गर्नुपर्ने बताउनु भयो ।