बिर्तामोडमा मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता हुने


२८ जेष्ठ २०८२, मंगलवार १८:१९ मा प्रकाशित

बिर्तामोड । बिर्तामोडमा तेस्रो मिस्टर कञ्चनजंघा खुला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ। बडी म्यारेज फिटनेस हाउस बिर्तामोडको आयोजनामा २०८२ भदौ २७ र २८ गते हुने भएको हो।

झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिइएको हो । पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय भएको प्रतियोगिता यो संस्करणबाट राष्ट्रियस्तरको हुन लागेको प्रतियोगिता संयोजक राम दाहालले जानकारी दिए ।

पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीभन्दा माथिका तौल समूहका खेलाडीहरू सहभागी हुने शारीरिक सुगठन संघका कोशी अध्यक्ष तथा प्रतियोगिताका अध्यक्ष आदित्य पराजुलीले बताए ।

बिर्तामोडको बडी ग्यारेजको आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । यसअघि विजेताको पुरस्कार नगद ३ लाख ११ हजार १११ रुपैयाँ थियो ।

त्यस्तै, दोस्रो हुनेले नगद तीन लाख रुपैयाँ, तेस्रो हुनेले दुई लाख, चौथो हुनेले एक लाख रुपैयाँ पाउनेछ । पाँचौँ हुनेले नगद ७५ हजार रुपैयाँ र छैटौँ हुनेले नगद ५० हजार रुपैयाँ पाउने प्रतियोगिताका संयोजक दिपेन चौधरीले बताए ।

हरेक तौल समूहका दोस्रो हुने खेलाडीले नगद पाँच हजार र तेस्रो हुने खेलाडीले नगद तीन हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा देशभरबाट दुई सयजना खेलाडीहरूले सहभागिता जनाउने संयोजक दाहालले बताए । प्रतियोगिताको सम्पन्न गर्न ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

दोस्रो मिस्टर कञ्चनजंघा शरीरिक सुगठन प्रतियोगिताको उपाधि दिलिपकुमार चौधरीले जितेका थिए । डिएनपी फिटनेस गाईघाटका उनी ६५ केजी तौल समूहबाट सहभागी थिए । अघिल्लो संस्करणलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको थियो । बडी ग्यारेजले संयोजन गरेको सो प्रतियोगितालाई बोर्डले १५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका सल्लाहकार सुवास भट्टराई, युवा व्यवसायी युवराज निरौला, पत्रकार सुब्रत न्यौपाने, झापा जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष दिप साउदेनले शुभकामना व्यक्त गरेका थिए ।

सोही अवसरमा काठमाडौँमा हालै सम्पन्न प्रज्ञा स्मृति शारीरिक सुगठन प्रतियोगितामा पुरस्कार जित्ने बडी ग्यारेजका खेलाडी प्रेमराज राजवंशी, अभिषेक राजवंशी र हरीश राजवंशीलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here