बिर्तामोड । झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयमा सम्पन्न प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी प्रतियोगितामा बुद्धशान्ति-२ को आदर्श माध्यमिक विद्यालय, जयपुर पहिलो भएको छ।
प्रतियोगितामा कक्षा ८ मा अध्ययनरत विशाल सहनीले तयार गरेको ‘ट्रान्समिसन लाइन फल्ट डिटेक्सन प्रोजेक्ट’ले पहिलो स्थान प्राप्त गर्दै चार लाख रुपैयाँ नगद पुरस्कार जितेको हो।
विशालले युट्युबमार्फत अध्ययन गरी उक्त प्रोजेक्ट तयार पारेका थिए। उनलाई विद्यालयका विज्ञान शिक्षक अरूण ढुङ्गेलले प्राविधिक सहयोग गरेका थिए। प्रदर्शनीमा विशालले तयार गरेको यो सर्किटले धेरैको ध्यान खिचेको आयोजकले बताएको छ।
दोस्रो र तेस्रो स्थानमा देवी मावि र सिंहदेवी मावि:
प्रतियोगितामा दोस्रो स्थान बिर्तामोडकै देवी माध्यमिक विद्यालयले हासिल गर्यो। कक्षा ११ का सविन बाँस्कोटाको नेतृत्वमा आयुष, अनिश र सुवर्णले बनाएको ‘देवी रोबोट’ ले दोस्रो स्थान प्राप्त गर्दै तीन लाख रुपैयाँ पुरस्कार जित्यो। उनीहरूले करिब एक महिनामा उक्त रोबोट निर्माण गरेका थिए, जसले दर्शकहरूलाई चकित तुल्याएको थियो।
तेस्रो स्थान तेह्रथुमको सिंहदेवी माध्यमिक विद्यालयले प्राप्त गर्यो र दुई लाख रुपैयाँ पुरस्कार पायो।
प्रोत्साहन पुरस्कार पाउने विद्यालयहरू:
यसबाहेक, पाँचथरको फिदिम मावि, इलामको फिक्कल मावि, सुनसरीको ल्याबोरटरी मावि, खोटाङको चिसापानी मावि, ताप्लेजुङको भानु जन मावि, संखुवासभाको मनकामना रत्न अम्बिका मावि, झापाको हिमाली मावि, धनकुटाको त्रिवेणी मावि तथा मोरङको रिलाइन्स अंग्रेजी माविले प्रोत्साहन स्वरूप २५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरे।
प्रदर्शनीको व्यापक सहभागिता:
कक्षा १२ सम्मका विद्यार्थीहरूले तयार पारेका अनुसन्धानमूलक परियोजनाहरू समेटिएको यस प्रदर्शनीमा कोशी प्रदेशका १२ जिल्लाका ५० भन्दा बढी विद्यालय सहभागी थिए। जम्मा १२५ वटा स्टल रहेको कार्यक्रममा करिब १० हजार दर्शकले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।