काठमाडौै । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोईराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताउनुभएको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) वागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको बताउनु भयो । उहाँले तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी गर्नुभयो ।
कोईराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको बताउनु भयो । उहाँले पछिल्ला घटनाक्रमहरुप्रति लक्षित गर्दै अध्यक्ष नेपालले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उहाँको भनाइ छ । पूर्वराजाको नाम लिएर अरुले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौति दिनुभयो ।
अध्यक्ष नेपालले राजाहरुले विगतमा के काम गरेर अहिले राजा फर्काउने भन्दै प्रश्न गर्नुभयो । उहाँले जनताले रोजेको व्यक्ति भन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताउनु भयो । वंशको शासन कहिले पनि राम्रो नहुने उहाँको भनाइ छ ।
पूर्वराजालाई फर्काउनुको पछाडि कुनै देश बनाउने, विकास गर्ने योजना छ ? भन्दै प्रश्न गर्नुभयो । राजा र उनका नजिककाहरुले देश लुट्न खोजिरहेको आरोप लगाउनु भयो । गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने पनि बताउनु भयो ।
अध्यक्ष नेपालले राजावादीहरुले मच्चाइरहेको हल्लामा कुनै सत्यता नरहेको बताउनु भयो । उहाँले राजावादी नेताहरु पनि सरकारमा रहेको उल्लेख गर्दै अरुलाई दोष दिएर मात्रै नहुने जिकिर गर्नुभयो । उहाँले एमाले—काँग्रेस—नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सुरक्षा दिएपनि आफ्नो पार्टी कार्यालयमा सुरक्षा नदिएको भन्दै सरकारको आलोचना गर्नुभयो । आफ्नो पार्टीलाई तत्काल क्षतिपूर्ति दिन माग गर्नुभयो ।