काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्र्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गर्नुभएको छ ।
शनिवार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०—०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गर्नुभएको हो ।
उहाँले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताउनु भयो । उहाँले अबको एक दशक आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताउनु भयो ।
उहाँले अबको ८/१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्रै नभइ अन्य ठाउँमा पनि दुई/चार लाख रुपैयाँ कमाएको स्थिति बनाउनसक्ने बताउनु भयो । महामन्त्री थापाले अर्थतन्त्रमा अप्ठेरो परेको बेला पनि आईटी क्षेत्रले आशा देखाएको बताउनु भयो । आईटी क्षेत्रमा नेपाललाई धेरै अवसर रहेको उल्लेख गर्नुभयो ।