काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले विपी (विश्वेश्वरप्रसाद कोईराला) को नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी काँग्रेसमा विकसित भइरहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेको कुराहरु विपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
उहाँले पार्टीका नेता, कार्यकर्ताहरुले विपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताउनु भयो । उहाँले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गर्नुभयो । आफूलाई भनेको कुरा विपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाउनु भयो ।
महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु भएको बताउनु भयो । उहाँले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको बताउनु भयो ।