काठमाडौं । बाढीपहिरोले १० दिनदेखि अवरुद्ध कान्ति लोकपथ सञ्चालनमा आएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका ८ बागमती नदीमा पुलको केही भाग र सडक बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो ।
पुल र सडक मर्मतसँगै गएराति १ बजेदेखि सडक सञ्चालनमा ल्याइएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए । बाढीले बागमती पुलको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएको थियो । बगाएको भागमा ‘डाइभर्सन’ निर्माण गरी सवारीका साधन सञ्चालनमा आएका हुन् ।
अहिले कान्तिलोकपथ हुँदै सवारी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी श्याम अर्यालले जानकारी दिए । हेटौँडा–काठमाडौं आवतजावत गर्ने छोटा दूरीका वैकल्पिक सडकमार्ग बाढीपहिरोले क्षतविक्षत बनाएपछि पूर्वदेखिका यात्रु त्रिभुवन राजपथ हुँदै काठमाडौं आवतजावत गरिरहेका थिए ।
अहिले हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीका भीमफेदी–कुलेखानी–फाखेल, भीमफेदी-कुलेखानी-सिस्नेरी र कान्तिलोकपथ सडक सञ्चालन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।