मधेसमा चाडपर्व लक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी परिचालन


२१ आश्विन २०८१, सोमबार १५:२२ मा प्रकाशित

चाडपर्वलाई सुरक्षित बनाउनका लागि मधेसमा पर्वलक्षित सुरक्षा योजनामा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिने भएको छ ।

दसैँ, दीपावली (तिहार)र छठ पर्वसम्मको सुरक्षा योजना बनाएको नेपाल प्रहरीको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले यस अवधिमा छ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन हुने जनाएको हो ।

चाडपर्वमा भीडभाड बढ्ने र मान्छेको  व्यस्तताबीच चोरीतस्करी, सडकमा हुने सवारीको चाप, मठमन्दिरमा हुने भीड, कालोबजारी,जुवातास,पकेटमारी र मूर्ति विसर्जनलगायत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको मधेस प्रहरी कार्यालयका प्रमुख तथा नायब प्रहरी महानिरीक्षक लीलामणि आचार्यको भनाइ छ ।

यसैगरी,सुरक्षा योजनामा मेला उत्सव, सरकारी कार्यालय, बैङ्कहरुमा हुने भीड, यातायात सुरक्षा, लागुपदार्थ दुव्र्यसन तथा ओसारपसार तथा सांस्कृतिक कार्यक्रममा हुनसक्ने झडपसहितका क्षेत्र मधेस प्रहरीले चुनौतीका रुपमा पहिचान गरिएको जनाएको छ ।

मधेस प्रहरी कार्यालयले चाडपर्व लक्षित गर्दै बनाएको योजना यही असोज १५ गतेदेखि सुरु भइसकेको छ। यो योजना छठ पर्वपछि कात्तिक २५ गतेसम्म रहने नायब प्रहरी महानिरीक्षक आचार्यले स्पष्ट पारे।

प्रदेशका आठवटै जिल्लामा पहिले कार्यरत जनशक्तिमा प्रतिजिल्ला एक हजार चार सय प्रहरी थपिएको मधेस प्रहरी कार्यालयले जनाएको छ। यसरी खटिने प्रहरीको सङ्ख्या छ हजार तीन सय ९४ हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here