बाढी प्रभावित किसानको गुनासो : यसपालिको दसैँ दशा भएर आयो


२१ आश्विन २०८१, सोमबार १०:१५ मा प्रकाशित

सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए । उनले तीमध्ये करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए ।

‘दसैँ अगाडि नै धान भित्र्याउने सोच बनाएको थिए । आफूलाई खान पुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो,’ उनले भने । 

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । ‘बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ,’ उनले भने ।

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा ४० हजार रुपैयाँ खर्च गरेका थिए ।

‘बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो ।  यसपटक दसैँ दशा भएर आयो,’ मेहताले भने । बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा ३० हजारदेखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका जनाइएको छ ।  

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकलन एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । 

कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले १ सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए । उनले बाढीबाट २ करोड ५० लाख रुपैयाँ बराबरको धान नोक्सानी भएको बताए । 

‘बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्यांक आउने क्रम जारी छ,’ सिंहले भने । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here