राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई फुटबल ठानेको आरोप लगाउनुभएको छ ।
बुधवारको राष्ट्रिय सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिका छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीले आफूलाई स्ट्राइकर ठानेर उथलपुथल गर्ने लगायतका अभिव्यक्ति दिने गरेको भन्दै आपत्ति समेत जनाउनु भयो ।
उहाँले स्ट्राइकर कहलिएका मेसी र रोनाल्डो पनि पेनाल्टीमा चुकेको उदाहरण दिँदै उहाँले प्रधानमन्त्री दाहाललाई खुट्टा उचाल्ने काममा सन्तुलन नमिल्दा पैताला चिप्लिएर कम्मर भाँचिने जोखिम हुने भन्दै चेतावनी दिनुभयो । उहाँले प्रधानमन्त्रीले धेरै खुट्टा उचाल्छु, उथलपुथल गर्छु, नभन्नुभएको भए पदीय गरिमा जोगिने बताउनु भयो ।
उहाँले सरकार चलाउन रातारात गठबन्धन भत्काएर उथलपुथल ल्याउने भाषण गर्नु जस्तो सहज नहुने बताउनु भयो ।
उहाँले प्रधानमन्त्री दाहालले रुखको छहारीको जाडो लाग्यो भन्दै घाम तापेर घण्टी बजाउन शुरु गर्नुभएको भन्दै घण्टी भ्रष्टाचारीको कानमा, सुशासनको पक्षमा, संविधान र लोकतन्त्रको रक्षाका लागि बजाउनुपर्ने बताउनु भयो ।
उहाँले बिरोधाभाष नै प्रधानमन्त्रीको रोजाइ रहेको बताउनु भयो ।