दाङमा भएकाे बस दुर्घटनामा घाइते भएकाकाे प्रभावकारी उपचारका लागि प्रधानमन्त्रीको निर्देशन


२८ पुष २०८०, शनिबार १२:२० मा प्रकाशित

 काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाङको भालुबाङमा भएको बस दुर्घटनामा घाइते भएकाहरुको प्रभावकारी उपचारका लागि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले उद्धार र उपचारमा प्रभावकारी भूमिका निर्वाह गर्न सरकारका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उहाँले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ ।

बाँकेको नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे१ख ३९१२ नम्बरको बस गएराति दाङ देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङमा रहेको राप्ती नदीको पुलबाट खसेको थियो ।

 बस दुर्घटनामा १२ जनाको ज्यान गएको छ भने २३ जना यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १४ जनाको बाँकेको कोहलपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सात जना घाइतेको बुटवल र बाँकीको भालुबाङमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here