महासमिति बैठकको मिति दुई साता पछि सार्ने नेपाली कांग्रेसकाे निर्णय


१९ कार्तिक २०८०, आईतवार १४:२१ मा प्रकाशित

काठमाडौ । नेपाली कांग्रेसले महासमिति बैठकको मिति दुई साता पछि सार्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्वाराहीमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

तत्कालै हलको अभाव र भूकम्पका कारण तिहारअगाडिका सबै कार्यक्रम रोकिएपछि महासमिति बैठकको तयारीका थुप्रै काम प्रभावित भएकाले बैठक सारिएको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दुःखद घटनाका रुपमा लिँदै प्रभावितलाई तत्काल उद्धार, राहत र पुनसर््थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले राहत वितरणमा अनियमितता र पक्षपात हुन नदिन महामन्त्रीद्वयको संयोजकत्वमा अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय गरेको छ । समितिले स्थल अनुगमनदेखि सबै सामग्री परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी परिचालनको बीचमा भएका सबैको अनुगमन र सहजिकरण गर्ने विश्वकर्माले जानकारी दिनुभयो ।

बैठकले पार्टीको विपद व्यवस्थापन कोषमा रकम जम्मा गर्नका लागि अपिल गर्न निर्णय गरेको छ । अपिल गरेसंगै कांग्रेस नेता जिप छिरिङ लामाले ११ लाख र दिव्यमणि राज भण्डारीले पाँच लाख दिने निर्णय गरेको विश्वकर्माले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here