संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको एमाले अध्यक्ष ओलीको आरोप


९ जेष्ठ २०८०, मंगलवार १९:०८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको आरोप लगाउनुभएको छ ।

मंगलबार ललितपुरमा नेकपा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषद्मा ६५ बर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहेपनि ७१ र ७७ बर्षका मान्छेलाई नियुक्त गरेको आरोप लगाउनुभएको हो ।

उहाँले यस बिषयमा संविधान र कानूनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताउनुभयो । ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेड बर्षसम्म प्रतिपक्षीसंग संवाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने जिकिर गर्नुभयो । वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको उहाँको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले मुलुकमा आर्थिकलगायत बिभिन्न समस्या देखिएपनि सरकार बेखवर जस्तै देखिएको तर्क गर्नुभयो ।

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्य मान्यताविपरितको काम गरे कारवाही गर्न अग्रसर हुने बताउनुभयो । ओलीले एमालेमाथि सवैतिरबाट तीव्र हमला गरेर सिद्धाउन खोजेपनि पार्टीलाई अझ सशक्त रुपमा अघि बढाउने पनि बताउनुभयो ।

उहाँले पार्टी ध्वस्त पार्ने, पार्टी नेतृत्वप्रति अनास्था गर्ने काम भएपनि पार्टीलाई शुद्धिकरण गर्ने मौका पाएको र शुद्धिकरण कारण पार्टीलाई छोटो समयमा नै मजबुद अवस्थामा पुराएको दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here